Breaking News

Radio Star

काठमाडौं २५ साउन । ‘हामी सबै सम्हालिएर हिँड्नुपर्छ। सम्हालिएनौं भने सिद्धिन्छौं। पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन म जेमा पनि हस्ताक्षर गर्न सक्छु भनेको थिएँ। उहाँ (प्रचण्ड) ले ल्याउनुभयो, मैले हस्ताक्षर गरिदिएँ। त्यसपछि मात्र मैले अध्ययन गरेको हुँ।’
-केपी ओली, प्रधानमन्त्री तथा अध्यक्ष, नेकपा

-‘एकताका क्रममा केही सहमति गर्ने कुरा भयो। उहाँ (ओली) ले तपाईं लेखेर ल्याउनुहोस् भन्नुभयो, मैले लेखेर लगें। त्यसपछि उहाँले हस्ताक्षर गर्नुभयो। मैले बोलेका कुराबाट कुनै आशंका पैदा भएको छ भने म जिम्मा लिन्छु। तर हामी एकताको कामलाई टुंगोमा पुर्‍याउँछौं। एउटै डुंगामा बसेर झगडा गर्दा हामी सबै डुब्छौं भन्ने थाहा छ ।’
-प्रचण्ड, अध्यक्ष, नेकपा

सत्तारुढ दल नेकपाका दुई ‘पाइलट’ ले बेलाबेला गज्जमजिने आफ्ना सम्बन्धलाई गत असार १६ को संसदीय दलको बैठकमा सुमधुर बनाउन गरेका प्रयत्न हुन्् यी दुई अभिव्यक्ति। त्यसपछिका पार्टी बैठकदेखि अनेक फोरमहरूमा नेकपा ‘जेट’ का दुई पाइलट केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले नीतिगत धारणाभन्दा पनि भावनात्मक कुरा नै दोहोर्‍याउन थालेका छन् सम्बन्ध सुधारका लागि। तर पनि यी अध्यक्षद्वयले एकले अर्कोलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा अझै विश्वासिलो वातावरण बन्न सकिरहेको देखिँदैन। राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलको बुझाइमा, नेकपाका अध्यक्षद्वय (ओली-प्रचण्ड) यदाकदा अझै सशंकित हुने अवस्था देखिन्छ। जसका कारण पनि नेकपाको एकता प्रक्रियाले सहज बाटो लिन सकिरहेको छैन।‘अध्यक्षद्वयबीच एकअर्कालाई अहिले विश्वास नगरी धरै पनि देखिन्न। संशयपूर्ण ढंगले अध्यक्षद्वयले एकअर्कालाई विश्वास गरिरहेको अवस्था अहिले छ’ पोखरेल भन्छन्, ‘विश्वास छ भनेर बाहिर देखाउन पनि जरुरी छ। एकअर्काको भूमिकाप्रति एकअर्कामै संशय छ। संशयपूर्ण विश्वासको अवस्थामा ओली-प्रचण्ड सम्बन्ध देखिन्छ।’ (हेर्नुहोस्, पोखरेलको टिप्पणी) दुई नेताकै सम्बन्धका कारण नेकपा एकता बेलाबेला गज्मजिँदै आइरहेको छ। पार्टी स्कुलिङ विभागको नेतृत्व अहिले त्यही विश्वासको वातावरण बन्न नसक्दा नेताहरूकै बीच जुँगाको लडाइँ बन्न पुगिरहेको छ।नेताहरूमा हार्दिकता छैन। एकताको बेला जति उत्साहित थिए, नेकपाका दुवैतर्फका नेता-कार्यकर्तामा त्यो उत्साह अहिले मर्दै जान थालेको छ। पुराना कम्युनिस्ट नेता प्रदीप नेपालको भनाइमा, कम्युनिस्ट एकता र जनताले दिएको जनमतको अवसरलाई नेकपा नेतृत्व सदुपयोग गर्न चुकिरहेको छ। ‘नेपालका कम्युनिस्टहरूका लागि अवसर राम्रो थियो र छ पनि। तर त्यसलाई सदुपयोग गरेर जानुपर्ने हो। नेताहरूले त्यसरी सोचेको देखिँदैन। दुवै अध्यक्षले एकअर्कालाई विश्वास गरेर यो अवसरलाई सदुपयोग गरेर जान सक्नुपर्छ’, नेता नेपाल बताउँछन्।

एकअर्कामा आशंका

पार्टी एकतापूर्व नै ओली र प्रचण्डमा अनेक शंका-उपशंका थिए। एकतापछि पनि दुवै पक्ष एकअर्कासँग सशंकित छन्। ओली पक्षले अझै प्रचण्डलाई विश्वास गर्न सकिरहेको छैन। द्वैध सत्ताको अभ्यास (हामी दुई बराबरका छौं भनेर प्रचण्डले भन्ने गरेको अभिव्यक्ति) गर्ने अनि सरकारलाई अस्थिर र अन्योल सिर्जना गरेर आफू केन्द्रीय भूमिकामा देखा पर्न खोज्ने प्रचण्डको भूमिका रहेको ओली पक्षको बुझाइ देखिन्छ। ओली पक्षका एक नेता भन्छन्, ‘प्रचण्डजी बढी नै आफूलाई केन्द्रमा राख्न चाहनुहुन्छ। त्यही कारण अनेक प्रसंग बेलाबेला ल्याउनुहुन्छ र पार्टीमा विवादको वातावरण बनाउन खोज्नुहुन्छ।’

मन्त्रिमण्डल हेरफेरको हल्ला, प्रधानमन्त्री नभएका बेला शीर्ष नेताहरूको गोप्य बैठकदेखि भेनेजुएला प्रकरण र पछिल्लो समय आलोपालो सरकारको नेतृत्वका विषयलाई सार्वजनिक टिप्पणीमा ल्याएर प्रचण्डले सरकारलाई अप्ठ्यारोमा पार्न खोजेको ओली पक्षका ती नेताको बुझाइ छ।

आफू संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएको बेला झम्सिखेल बैठक गरेको र आफूलाई घेराबन्दी गर्न खोजेको आशंका पनि ओलीले प्रचण्डप्रति गरेका थिए। झम्सिखेल बैठकमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम सहभागी थिए। त्यसले पनि ओलीको मनमा चिसो पस्यो। त्यसलगत्तै भेनेजुएला प्रकरणमा प्र्रचण्डले वक्तव्य दिए। त्यस प्रकरणमा ओलीले नेपालस्थित अमेरिकी दूतावासको समेत चासोको सम्बोधन गर्न बाध्य हुनुपर्‍यो।
अन्नपूर्णपोष्टबाट

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार २१:११

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook