Breaking News

Radio Star

धनकुटाको चौविसे गाउँपालिकास्थित कुरुलेतेनुपा माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीले विज्ञान विषय पढाउने शिक्षक नभएर पठनपाठन अवरुद्ध भएको भन्दै आन्दोलित भएका छन्। यस शैक्षिक सत्रको सुरुदेखि नै मावि र निमावि तहको विज्ञान विषयको शिक्षक नहुँदा पढाइ अवरुद्ध भएकोले विद्यालयमा गठित बालक्लब र जुनियर रेडक्रस सर्कलको नेतृत्वमा विद्यार्थीले शिक्षकको माग राख्दै नारावाजीसहित आन्दोलन गरेका हुन्। विद्यालय प्राङ्गणमा करिब ६५ जना विद्यार्थीले नाराजुलुससहित शिक्षक मागको प्लेकार्ड बोकेर विद्यालय प्रशासनको कक्षअगाडि दैनिक कोणसभा गर्दै आएका छन्। विद्यालय प्रशासनले शिक्षकको व्यवस्था नगर्दा अहिलेसम्म विज्ञान विषयको पढाइ नभएको कारण बाध्य भएर आन्दोलन गर्नु परेको कक्षा–१० मा अध्ययरत विद्यार्थी शैलेन्द्र तामाङले बताए। ‘भदौ १ गतेदेखि विद्यालय प्रशासनले शिक्षकको व्यवस्था गर्ने भनेको थियो’ उनले भने ‘हालसम्म पनि व्यवस्थापन नहुँदा पढ्न पाउने अधिकारवाट विद्यार्थी वञ्चित भएकोले बाध्य भई आन्दोलन गरेका हौँ’ नयाँ शैक्षिक सत्रदेखि नै विज्ञान विषय पढाइ हुने घण्टी खाली भइरहेको थियो। नयाँ शैक्षिक सत्र सुरु भएको लामो समय भइसक्यो। अहिलेसम्म पनि पढाई नहुँदा सबै कोर्स कसरी सकिन्छ भनेर विद्यार्थीमा चिन्ता देखिन थालेको समेत उनले बताए। सो विद्यालयमा मावि तहको विज्ञान विषयमा दरबन्दी रिक्त भएको दुई वर्ष भइसकेको छ। निमावि तहमा पनि चार महिना यता शिक्षकको दरबन्दी खाली रहेको विद्यालयमा प्रधानाध्यापक वीरबहादुर बाजीले बताए। विद्यालयमा हालसम्म पनि शिक्षक नहुँदा विज्ञान विषयको पठनपाठन ठप्प नै भएको उनले बताए। विद्यार्थी उठाएका माग जायज रहेको र सो मागलाई मध्यनजर गरी विद्यालय व्यवस्थापन समितिले केही दिनभित्रै नीजि स्रोतबाट भए पनि शिक्षकको व्यवस्था गर्ने निर्णय गरेको उनले बताए। २०७२ सालमा निमावि बिएसी स्थायी नियुक्ती भई योगेश पोखेरल आएका थिए। दुई वर्ष नपुग्दै उनी तराईमा घरपायक सरुवा लिएर गए। हालसम्म पनि सो दरबन्दी रिक्त अवस्थामा रहेको छ। त्यस्तै, निमावितर्फ आइएसी विज्ञानतर्फ कार्यरत शिक्षक पनि आन्तरिक परीक्षामा अनुत्तीर्ण भएपछि ६ महिनादेखि सो दरबन्दी रिक्त रहेको छ। एक वर्षदेखि लाइसेन्स भएको शिक्षक ल्याउने प्रयास गरे पनि अहिलेसम्म नभेट्टिएको उनले बताए। शिक्षक सेवा आयोगले विज्ञान विषयमा धनकुटाको चौविसे गाउँपालिकामा एक जना र पाख्रिवास नगरपालिमा २ जना सिफारिस गरे पनि चौबिसे गाउँपालिकामा पोष्टिङ भएका शिक्षक विभागवाटै अयन्त्र गएको उनले बताए। यता चौविसे गाउँपालिका अध्यक्ष खजिन्द्र राईले सो विद्यालयमा शिक्षकको दरबन्दी भए पनि नयाँ शिक्षक नआइदिँदा समस्या भएको बताए। सो विद्यालय रहेको स्थान भौगोलिक रुपमा विकट भएको क्षेत्र हो। शिक्षक आए पनि केही महिना पछि सरुवा मिलाएर अयन्त्र गइहाल्छन्। निजी स्रोतवाट राख्नका लागि पनि कोही आउन इच्छुक नभएको उनले बताए। लाइसेन्स प्राप्त केही व्यक्तिहरूसँग सम्पर्क भइरहेकोले अब केही समयपछि शिक्षक अभावको समस्या हल हुने उनले बताए।

प्रकाशित मिति : २२ भाद्र २०७६, आईतवार १९:१२

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook