Breaking News

Radio Star

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला देशको राजनीतिक घटनाक्रमलाई बुझिनसक्नु भन्छन् । अहिलेको विकसित घटनाक्रमले राजनीतिक केही भन्न नसकिने अवस्थामा पुगेको बताए । उनीसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः

यसपालाको दशैं कहाँ मनाउँदै हुनुहुन्छ ?

मेरो पुख्र्यौली घर विराटनगर हो, त्यहीं छु । साथीभाइ नै परिवार हुन् मेरो त ।

देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी लिनुभएको छ ?

अहिलेको राजनीतिलाई केही भन्न सक्ने अवस्थै छैन । बुझिनसक्नुका घटनाक्रम अगाडि आएका छन् । त्यसलाई कसरी लिने भन्ने नै भएन ।

के कारणले यस्ता घटनाहरु भए ?

देशमा घटनाहरु त घटिरहन्छ । हरेक देशमा यस्ता घटनाहरु घट्छन् । तर, ती घटनहरुले हामीलाई कहाँ पु¥याउँदै छ त्यो ठूलो कुरा हो । वास्तमा हामीहरुमा नैतिकताको ठूलो खडेरी भएको छ । यसमा खरो भएर उभिन सकेनौं । राजनीति गर्ने व्यक्तिले सबै कुरा सोच, विचार गरेर गर्नुपर्छ ।

महरा घटना प्रकरणतिर तपाईंको संकेत हो ?

कृष्णबहादुर महराजीको कुरा गर्दा सञ्चारमाध्यममा सुन्दा र अखबारहरु पढ्दा उहाँको यो व्यवहार पहिलादेखिकै जस्तो लाग्छ । तर, अहिले आएर यो घटना किन र कसरी भयो ? कसले गरायो ? सामान्य तरिकाले भएको जस्तो लाग्दैन । त्यसमा अरु धेरै कुरा जोडिएका छन् जस्तो लाग्छ । म गलत पनि हुन सक्छु । मानव अधिकारले पनि यसको छानविन गर्नुपर्छ भनेको छ । प्रहरीले त गरिराखेको होला ।

मानवअधिकार आयोगले त छानविन समिति गठन गर्नुपर्छ भनेको तपाईंलाई के लाग्छ ?

मानव अधिकारले त आफ्नो ठाउँबाट गर्छहोला । तर, यसमा अलिकति राजनीतिक पाटो पनि केलाउनुपर्छ ।

यो मुद्दामा कसैको राजनीतिक स्वार्थ छ ?

छैन भन्न सक्ने अवस्था रहँदैन ।

पार्टीभित्रैबाट हुन सक्छ ?

त्यो म कसरी भनौ । तर, छैन भनेर म भन्न सक्दिँन ।

कृष्णबहादुर महरामाथि षडयन्त्र छ भन्न खोज्नुभएको हो ?
त्यो खालको सम्बन्ध छ भन्ने कुरा त अखबारहरुमा पहिलादेखि नै आइरहेको हो । तर, अहिले एक्कासी कसरी बाहिर आयो भन्ने मुख्य कुरा हो ।

रोशनी शाहीले हाम्रो पुरानै सम्बन्ध हो भनेर बताइसक्नुभएको छ नि ?

उहाँले पनि भन्नुभयो होला । सञ्चारमाध्यमहरुबाट पनि आइरहेका छँदैथिए । तर, अहिले जसरी घटनाक्रमहरु बाहिर आयो । यसलाई मानव अधिकारले हेर्ने आफ्नो ठाउँमा, छ । प्रहरीले छानविन गर्ने आफ्नो कुरा भयो । तर, त्यो भन्दाबाहेक पनि पत्रकारहरुले अर्कै ढंगले खोज्नुपर्छ भन्ने खोजेको हो ।

यो घटनालाई राजनीतिक चस्माले हेर्नुपर्छ भन्न खोज्नुभएको हो ?

प्रहरी, मानवअधिकार, राज्यले हेर्ने काम त गरिहाल्छ नि । तर, राजनीतिक हिसावले पनि खोजबिन गर्नुपर्छ । मलाई अच्म लागेको कुरा त ‘हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु सिवाकोटीलाई जुन खालको धम्की आइरहेको छ । त्यो एदमै निन्दनीय र गलत छ । जसले धम्की दिएको हो । त्यो बन्द गर्नुपर्छ । राज्यले यसलाई गम्भीर रुपमा ध्यान दिनुपर्छ । उहाँ र उहाँका परिवारको सुरक्षाको जिम्मा राज्यले लिनुपर्छ । यो बडो गम्भीर विषय हो । एउटा पत्रकारले खोज पत्रकारिता गरेर सत्यतथ्य बाहिर ल्याउने काम गर्नुभयो । त्यसपछि उहाँलाई जसरी फोनमार्पmत धम्कीहरु दिइरहिएको छ । सामाजिक सञ्चालहरुमा विभिन्न कुरा लेखेर तर्साउने काम जसरी गरिएको त्यसले उहाँमाथि सांघातिक हमला पनि हुन सक्छ ।

रोशनी शाहीले त मलाई फसाइयो मैले अन्तर्वार्ता दिन चाहेको थिइनँ भनेर ?

उहाँले के भन्नुभयो, कसो भन्नुभयो भन्ने कुरा त हामीले अखबारमै पढेको हो । म अनुसन्धानकर्ता त होइन नि । यसको छानविन त राज्य, प्रहरी र मानव अधिकारले गर्नुपर्छ ।

महराले सांसद पदबाट राजीनामा दिनुपर्छ कि पर्दैन ?

मैले पहिला नै भनेको नैतिकताको आधारमा त उहाँले राजीनामा दिनुपर्ने हो । उहाँले दिनुभएन भने मैले के गर्न सक्छु र । म को हो उहाँलाई राजीनामा दिनुहोस् भन्ने ? त्यति त म पहिलादेखि भनिरहेको छु । हाम्रै नेताहरुलाई भन्दैछु नैतिकताको खडेरी भयो हाम्रो राजनीतिमा भनेर ।

कांग्रेसका नेताहरुले नैतिकताको त खोजी गर्नुपर्छ होइन र ?

कांग्रेसका मात्र होइन कम्युनिस्टहरुमा पनि छैन । सबै नेताहरुमा नैतिकताको अनिकाल छ । यस्तो नैतिकताले राजनीति गर्न खोज्छौं । अनि त्यो राजनीतिले देशलाई कहाँ पु¥याउँछ ?

त्यो भए नेताहरुमा नैतिकता छैन ?

हो नि । अनि राजनीतिक गरेर के फाइदा हुन्छ । नैतिकताबिनाको राजनीति त राजनीति भएन नि ।

धनसम्पत्ति हुने बित्तिकै नेता भइहाल्ने हो ?

हो त नि । अहिले सबैमा त्यही देखिएको छ ।

कांग्रेसमा पनि धनसम्पत्ति हेरेर नेता मान्छे चलन छ नि ?

यस्तो कुरा क्षणिक हुन्छ । दीर्घकालीन हुँदैन । विजयदशी भनेको असत्यमाथि सत्यको विजय हो । सत्यको बाटो पछ्याउन धेरै कठिन हुन्छ । म त सत्यको बाटो हिड्न खोजिरहेको छु । तर, सधैं सत्यको विजय हुन्छ त्यसकारण सत्यको बाटो हिडौं । त्यो बाटो कठिन छ । कठिन बाटोमा हिड्दा अप्ठ्यारा पनि आइलाग्छन् ।

नेताहरु जनचाहना अनुसार काम गरेको भए यो अवस्था आउने थिएन नि होइन ?

आउँदैन थियो नि । नेताहरुले गरेनन् ।

कांग्रेस महाधिवेशनको तयारीमा जुटेको हो ?

नेपाली कांग्रेसको महाधिवेशन भएको साढे तीन वर्षभन्दा बढी भइसक्यो । पौने चार वर्ष नै आगामी फागुनमा त महाधिवेशन नै गर्नुपर्ने हुन्छ । अहिलेका नेतृत्वहरुलाई अधिवेशन गर्ने त्यति चासो दिइरहेको जस्तो लाग्दैन । महाधिवेसनको तयारी नै गरेको छैन । विभागहरु बनाउनेतिर लागिराखेका छौं । क्रियाशील नविकरणको कुरा त्यसलाई कसरी बनाउने भन्ने छ । यी विषय छलफल गरेर अगाडि जाँदा त्यसले एउटा मूर्त रुप दिन्छ । नेपाली कांग्रेसमा एक खालको उर्जा पनि आउँथ्यो । नेपालमा लोकतन्त्र जोगाउन पनि नेपाली कांग्रेसको महाधिवेशन छिटोछिटो हुन अत्यन्त जरुरी छ ।

महाधिवेशन गर्न पार्टी सभापतिले चाहनु पर्यो नि ?

उहाँले चाहनुहुन्न भने नगर्ने त ? अहिले उहाँ जुन ठाउँमा हुनुहुन्छ । त्यो ठाउँमा आउन उहाँले धेरै दुःख खष्ट गर्नुभएको । जेल, नेल बस्नुभएको छ । डेमोक्रेसीका लागि लड्नुभएको छ । त्यो आफ्नो ठाउँमा छ । तर, नेपाली कांग्रेसमा अहिले महाधिवेशन भएन भने सयम लम्बिएर जान्छ । उहाँ कोशिष गरिरहनुभएको लम्ब्याउने । अहिले विभाग बनाउनेतिर लागिरहनुभएको छ । महाधिवेशन नगर्ने हो भने त नेपाली कांग्रेस कमजोर हुन्छ । नेपाली कांग्रेस कमजोर हुनुभनेको लोकतन्त्र कमजोर हुनु हो । जुन उहाँ बोलिरहनुभएको छ । अधिनायवादतिर देश गयो भनेर । किन गयो भन्दा नेपाली कांग्रेस कमजोर गएको हो नि । कांग्रेस बलियो भए न मुलुक अधिनायकवादतिर जाँदैन । पञ्चायतमा पनि नेपाली कांग्रेस बलियो थियो । वीपीले एकचोटी उभिएर बोल्दा त्यसको माने हुन्थ्यो । गणेशमान, किसुनजी, गिरिजाबाबु बोल्दा माने राख्थ्यो पञ्चायतकालमा ।

अहिले तपाईंहरुको बोलीमा कुनै प्रभावकारिता छैन नि ?

मेरो बोलीमा प्रभावकारिता नहुनु स्वाभाविक हो । तर, नेताहरुको बोलीमा त प्रभावकारिता हुनुप¥यो नि । आफ्नो पार्टीको महाधिवेशन त गर्न सक्दैन अनि देशमा कसरी लोकतन्त्र बाँच्छ त नत्र कसरी बाँच्ने हो । नेपालको इतिहास हेर्नुस् । लोकतन्त्र बँचाउन नेपाली कांग्रेस भूमिका रहन्छ । र, जुन–जुन बेला नेपाली कांग्रेस कमजोर भएको छ । त्यति बेला लोकतन्त्र खतरामा परिरहेको छ । यो कुरा त नेताहरुले पक्कै पनि बुझ्नुभएको होला ।

नेपाली कांग्रेसभित्र विभाग गठन गर्नुपर्ने आवश्यकता छैन ?

मलाई पटक्कै मन परेको छैन । विभाग गठन गरेर कसलाई देखाउन खोजेको ? विश्व हाँस्छ ।

भातृ संगठनहरुको नेतृत्व पनि छैन नि ?

यतिबेला भ्रातृ संस्थाहरुको कुनै नेतृत्व छैन । नेविसंघ, तरुण दल, महिला संघ कुनै ठाउँमा नेतृत्व छैन । दलित संघ चुनाव नभएको सात वर्ष भइसक्यो । किसान संघको अधिवेशन नभएको १० वर्ष भइसकेको छ । हशिले विधमग बनाउँनु भन्दा यो गरे हुन्छ नि । जुन गर्नुपर्ने हो त्यो गर्नुहुन्न ।

तपाईंहरुको नेतृत्वको होडवाजीले शेरबहादुर देउवा तर्सिनुभएको छ नि ?

किन तर्सिनु ? उहाँ पार्टी सभापति हो । हामी उहाँलाई मान्छौं । काम समयमा गरौं भन्दा किन तर्सिनुप¥यो । पार्टीमा कोही कसैसित तर्सिनुपर्ने आवश्यकता त छैन ।

आउने महाधिवेशनमा तपाईं सभापतिको उम्मेदवार हो ?

महाधिवेशनमा गर्न धेरै समय छ, गरौंला केही हतार छैन ।

कांग्रेस पार्टीको महाधिवेशन समयमा न हुने भयो होइन ?

नेतृत्वको चाहना अधिवेशन लम्ब्याएर विवाद बनाउ भन्ने छ ।

चिनियाँ राष्ट्रपति नेपाल आउँदै हुनुहुन्छ एजेन्डा के होला ?

यसमा हामी सबै नेपालीहरु यसमा मैले नेपाली कांग्रेस मात्रै भनेको होइन । नेपाली जनता, नेपालीहरु चिनीयाँ राष्ट्रपतिको एकदमै उत्सुकताको साथ हामीहरुले हेरिरहेका छौं । त्यो उत्सुकतालाई सरकारले कसरी लिन्छ भन्ने मात्रै हो । चीनसँग नेपालको सम्बन्ध अरनिकोदेखिको हो । यो सम्बन्धलाई अझ प्रगाढ बनाउन वीपी कोइरालाले खेल्नुभएको भूमिका अत्यन्त महत्वपूर्ण छ । त्यसरी अगाडि बढ्यो भने हामी ठीक ठाउँमा हुन्छौं । के माग्ने, के लिने के दिने भन्ने कुरामा म धेरै विश्वास गर्ने मान्छे होइन ।

रेलमार्ग, सुरुङमार्गलगायत अन्य पूर्वाधारका कुराहरु आएका छन् नि ?

एउटा कुरा के हो भने नेपाली कांग्रेस बेल्ट एन्ड रोड इनिसेटिभमा आउनुपर्छ । किन भने सुशील कोइरालाको नेतृत्वमा पहल भएको छ । त्यसपछि डा. प्रकाशशरण महत पर्यटन मन्त्री हुँदा हस्ताक्षर भएको हो । त्यसमा नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका छ । बीआरआई भन्छौं हामी त्यो ग्रान्डमा बनाउने होइन । बीआरआई भनेको चाइनिज बैंकबाट लोन लिन्छ । कुनै पनि देश लोन लिएर बनाउने हो । हामीहरुले पनि लोन लिएर बनाउनुपर्ने हुन्छ । त्यो तिर्नुपर्ने हुन्छ । त्यसैले पाँच खर्बको रेल ल्याउँदा हाम्रो गच्छेले भ्याउँछ भ्याउँदैन त्यो विचार गर्नुपर्छ । जहिले पनि लोन लिँदा देशको आर्थिक अवस्था हेरेर लिनुपर्छ । रेललाई प्राथमिकता नदिएर हजार मेगावाटको जलासाययुक्त हाइड्रो पावर एउटा, त्यपछि ट्रान्समिसन र किमाथान्कादेखि धरानसम्मको एक्सप्रेस सडक र रसुवागडीदेखि काठमााडौंसम्म एक्सप्रेस बनाउनुपर्छ । यी कुराको लागि नेपालले लोन तिर्न सक्छ । त्यो पनि पाँच वर्षभित्र बनाइसक्नुपर्छ । त्यसपछि मात्र रेलमा जानुपर्छ ।

त्यसो भए रेलको कुरा गर्नुहुँदैन चिनियाँ राष्ट्रपति आएको बेला ?

अहिले रेललाई प्राथमिकतामा नराखौं भन्ने मेरो मान्यता हो । दुईवटा एक्सप्रेस सडकलाई राखौं । अन्य विकास निर्माणलाई ध्यान दिऔं । तत्काललाई है फेरि रेल नचाहिने भन्ने होइन । भारत र चीनको सामान नै ओहोर–दोहोर हुन्छ भने मलाई केही भन्नु छैन । तर, अहिले नेपालले रेलमा के पठाउने ? पाँच वर्षमा रेल आउँछ अनि खाद्य सामाग्री चिनबाट मौ पैठारी भयो भने व्यापार घाटा कहाँ पुग्छ हाम्रो ? यो अवस्थाले त लोन पनि तिर्न सक्दैन । इन्ट्रेसतिर पनि जाओं । सुरु भएको १५ वर्षदेखि इन्ट्रेस तिर्ने भनौं । ऋण पनि विश्व बैंक जस्ता ठाउँबाट लिनुपर्छ, ब्याज पनि सस्तो हुन्छ । यतातिर लाग्ने हो नि । उसले जे–जे भन्यो पछाडि  दौडिहाल्ने त ?

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार १६:५२

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook