Breaking News

Radio Star

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादशैँले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छिन् । विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपतिले चाडपर्वको सम्बद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान एवं गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने बताएकी छन् । “हाम्रो मुलुकमा परम्परागत रुपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका विभिन्न चाडपर्वहरूले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकता थप सुदृढ गर्नका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेका छन्,” राष्ट्रपतिको सन्देशमा भनिएको छ । राष्ट्रपति भण्डारीले सन्देशमा विजयादशमी पर्वले समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न सबैमा उत्साह, जोश र जाँगर थप्ने विश्वास व्यक्त गर्दै सबैको उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।

यसैबीच, उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै स्वदेश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सु–स्वास्थ्य समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । विजयादशमीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भागौलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हाम्रो संविधानले सबै धर्म संस्कृतिका समुदायलाई आफ्नो धर्म संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको स्मरण गराएका छन् । हाम्रो देशमा मनाइने सबै चाडपर्वले नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आईरहेका छन् भन्दै उपराष्ट्रपतिले सन्देशमा विजयादशमीकोे माध्यामबाट त्यो अक्षुण्ण रहने र अझ उन्नत हुँदै जाने विश्वास व्यक्त गरेका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षाका साथ समृद्धिको मार्गमा अग्रसर रहेको राष्ट्रिय एकता, आर्थिक सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणको लागि सबै नेपालीहरुलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न विजयादशमीले प्रेरित गर्ने अपेक्षासंविधान कार्यान्वयनका बाँकी कार्यहरु यथाशीघ्र पूरा गर्दै देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउन विजयादशमीले सबैलाई थप प्रेरित गरोस् भन्ने कामना उपराष्ट्रपतिले सन्देशमा गरेका छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन् । बडादशैँ २०७६ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् भन्ने कामना पनि गरेका छन् ।

प्रधानमन्त्रीको सन्देशको पूर्ण विवरण

‘‘दिदीबहिनी तथा दाजुभाइहरु,

हामी नेपालीहरुको महान र परम्परागत चाड बडादशैँका उपलक्ष्यमा यहाँहरु सबैमा अर्थात् देशभित्र र देश बाहिर रहनुभएका सबै दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक एवं मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

दशैँ लामो समयदेखि हामीले मनाउँदै आएको एकताको चाड हो, पुनः मिलनको चाड हो, आफन्तहरुका बीचमा, छिमेकीहरुका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाइने चाड हो । यो चाड आफूभन्दा ठूलाहरुबाट आशीर्वाद लिने सानाहरुलाई आशीर्वाद एवं स्नेह दिने मानवीयताको चाड हो । यस चाडलाई सकेसम्म भव्यताका साथ मनाऔँ । भव्यताका साथ मनाइहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्ने आवश्यकता छ ।

यो चाड मनाइरहँदा स्वास्थ्यलाई ध्यान दिने, मित्रतालाई ध्यान दिने, सामाजिक शान्तिलाई ध्यान दिने, छिमेकीलाई प्रतिकूल असर नपरोस् भनेर ध्यान दिने गरौँ । परिवार, छिमेक र आफन्तमा आपसमा स्नेह, माया, ममता र सद्भाव फैलियोस् । यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् र जान सकोस् भन्ने कुरामा ध्यान दिन जरुरी छ ।

चाडहरु बढी खर्चालु नहून् । हामी आफ्नो गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त होऔँ । यसमा पनि ध्यान दिन जरुरी छ ।

आज हामी राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा छौँ । यस यात्रामा हामीले समृद्धिसँगै समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, मित्रतापूर्ण, सुसंस्कृत र शिक्षित समाजका रुपमा विकास पनि गर्नु छ । यसमा हामी सबैको ध्यान जान उत्तिकै जरुरी छ । हामी ‘समृद्ध नेपाल, सुखी नेपाल’को राष्ट्रि«य आकाङ्क्षा पूरा गर्ने अभियानमा छौँ । यस अभियानमा यो दशैँले हामी सबैमा प्रेरणा पनि दिन सकोस् । म यस बडादशैँका अवसरमा शुभकामना व्यक्त गर्दछु । धेरै धेरै शुभकामना ।’’

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलवार ०८:१८

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook